हामी मान्छे हौ नि त

हरेक साँझ फर्किनु छ चराहरूलाई
रुखको हाँगामा,
लाग्छ एउटा रुख आँफैमा एक गाउँ हो ।
थाहा छैन रुखका हाँगा वा पातमा,
कुनै चराको स्वामित्व दाबी रहन्छ रहन्न ।
हामी त मान्छे हौँ,
विद्यालयको कोठामा समेत
बेन्चमा स्वामित्व दाबी गर्नेहरू ।
दुई इन्च जमिनको लागी
सके मार्ने, नसके मर्नेहरू ।
सायद उड्नै पर्ने, चराहरूको बाध्यता हो ।
हाम्रो नियतिपनि त फरक छैन,
बस् किन हो, मान्छे बाहेक कसलाई बुझाउन हो,
आफैंले आफैंलाई सर्वश्रेष्ठ प्राणी लेख्नुपर्नेहरू ।
हामी त मान्छे हौँ,
माथि उठ्नै मात्र पनि
नसके अर्कोबाट टेकिनुपर्ने,
सके आफूले अर्कोमाथि टेक्नुपर्नेहरू ।
‘दोश्रो हुनेको त नामै आउँदैन है’
मन्त्र जसरी बालापनमै बारम्बार घोक्नुपर्नेहरू ।
हामी त मान्छे हौँ…

Leave a comment

Your email address will not be published. Required fields are marked *